बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धि र विकास यात्रामा विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमताको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले देश निर्माणको साझा अभियानमा प्रवासी नेपालीहरूलाई सक्रिय रूपमा जोडिन आग्रह गरे।
मन्त्री खनालले प्रवासमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सरकारलाई नीतिगत तथा व्यावहारिक रूपमा सहयोग गर्न आह्वान गरे। उनले भने, ‘तपाईंहरूले मतदानमार्फत हामीलाई नीति निर्माणको जिम्मेवारी दिनुभयो, अब देश निर्माणमा पनि तपाईंहरूको सक्रिय योगदान आवश्यक छ।’
संसारभर नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको र युवा पुस्ता विदेशिने क्रम निरन्तर जारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले देशभित्रै रोजगारी सिर्जना गर्नु सरकारको प्रमुख चुनौती भएको उल्लेख गरे।
उनका अनुसार वार्षिक करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये ३० देखि ६० हजारलाई मात्र देशभित्र रोजगारी उपलब्ध हुने गरेको छ। यस अवस्थालाई परिवर्तन गर्न वार्षिक करिब साढे चार लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
नेपाल अहिले जनसांख्यिक लाभांशको महत्वपूर्ण चरणमा रहे पनि आगामी दुई दशकपछि बुढ्यौली जनसंख्याको चरणमा प्रवेश गर्ने भएकाले विकासका लागि उपलब्ध समय सीमित रहेको मन्त्री खनालको भनाइ थियो।
उनले चीनमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र व्यवसायीहरूलाई आफूले प्राप्त गरेको आधुनिक विज्ञान, प्रविधि र सीपलाई नेपालको विकासमा उपयोग गर्न आग्रह गरे। साथै, नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न तथा प्रविधि र पर्यटन प्रवर्द्धनमा प्रवासी नेपालीहरूले सेतु (ब्रिज) को भूमिका खेल्न सक्ने उनले उल्लेख गरे।
‘रोम एक दिनमा बनेको थिएन, त्यसैगरी नेपाल पनि एकै दिनमा बन्न सक्दैन,’ उनले भने, ‘यो नेपालभित्र र बाहिर रहेका सबै नेपालीहरूको साझा प्रयासबाट मात्र सम्भव छ।’
परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले प्रवासी नेपालीहरूको लगानी, ज्ञान र सीप भित्र्याउन आवश्यक कानुनी तथा प्रशासनिक सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया