काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको गण्डकी प्रदेश अधिवेशनमा दिएको अभिव्यक्तिले पार्टीको मेरिटोक्रेसी नीतिमाथि नै प्रश्न खडा गरेको छ ।
जेठ २९ गते शुक्रबार गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै बुर्लाकोटीले रास्वपालाई सहयोग गर्ने व्यक्तिलाई विश्वविद्यालयमा १ नम्बर थपिने बताएका थिए । उनले भने, ‘रास्वपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्न प्रेरित गरेको छ भने १ नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ ।’
यो अभिव्यक्ति रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरेको वाचापत्र र सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदाविपरीत छ । वाचापत्रको बुँदा नं. ६१ मा विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्ने उल्लेख छ । यस्तै शासकीय सुधारको १२ नम्बर बुँदामा सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने र प्राध्यापक तथा राष्ट्रसेवकहरूलाई कुनै दलसँग आबद्ध हुन निषेध गर्ने उल्लेख छ ।
बुर्लाकोटीको अभिव्यक्तिले विश्वविद्यालयमा स्वच्छ र निष्पक्ष व्यक्तिलाई पदाधिकारी नियुक्त गरिन्छ भन्ने आशालाई समाप्त गरेको प्राध्यापक सङ्घका पूर्वसभापति भीमसेनदाश प्रधानले बताएका छन् । उनले भने, ‘यो अभिव्यक्ति अराजनीतिक र अनैतिक हो । यसले स्वच्छ व्यक्तिलाई विश्वविद्यालयमा पदाधिकारी बनाइन्छ भन्ने विश्वास मारेको छ ।’
रास्वपाको यो अभिव्यक्तिले पार्टीभित्र मेरिटोक्रेसीको सिद्धान्तलाई कमजोर बनाएको आलोचना भइरहेको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया