काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना जारी गरेको छ ।
मन्त्रालयका अनुसार सडकमा खाना पकाउने, नदी किनारमा लुगा धुने र फोहोर गर्ने जस्ता गतिविधिले पर्यटन क्षेत्रको छविमा असर परिरहेको भन्दै यस्ता कार्य रोक्न सूचना जारी गरिएको हो ।
स्थलमार्गबाट आउने पर्यटकहरूले नेपालको सीमामा पुगेपछि भन्सार विभागमार्फत प्रवेश अनुमति (अनलाइन वा भौतिक) सुनिश्चित गर्नुपर्ने छ । सवारी साधनमा सवार यात्रुहरूको नाम, उमेर, लिङ्गको सूची भन्सार अधिकारीहरूलाई उपलब्ध गराउनुपर्ने, नेपालमा रहने अनुमानित अवधि र भ्रमण गर्ने स्थानहरूको विवरण दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
सुरक्षाको दृष्टिकोणले सवारी साधन र सामानको पूर्ण जाँच गराउनुपर्ने छ । भारतीय नागरिकलाई भिसा आवश्यक नपर्ने भए पनि प्रवेशका लागि राहदानी वा मतदाता परिचयपत्र अनिवार्य छ । ज्येष्ठ नागरिक र बालबालिकाको हकमा आधार कार्डलाई पनि मान्यता दिइने जनाइएको छ ।
मन्त्रालयले पहाडी सडकहरू साँघुरा र घुम्ती भएको भन्दै सवारी साधन दुरुस्त अवस्थामा राख्न र चालकहरूलाई नेपालको भूगोल, मौसम तथा सडक अवस्थाको पर्याप्त ज्ञान हुनुपर्ने बताएको छ ।
तीर्थयात्रीहरूले मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम, पशुपतिनाथलगायत स्थलहरूलाई सफा राख्नुपर्ने, उचाईमा लाग्ने समस्या सम्बन्धी सचेत रहन बोटल अक्सिजन साथमा राख्नुपर्ने, प्रयोग गरिएका सामान र फोहोर तोकिएको ठाउँमा मात्र फाल्नुपर्ने जनाइएको छ । फोहोर सडकमा फाल्नु नियम उल्लंघन मानिनेछ र सजाय हुन सक्ने चेतावनी दिइएको छ ।
आफैं खाना पकाउने पर्यटकले होटल वा अनुमति प्राप्त ठाउँसँग सम्पर्क गर्नुपर्ने, खुला ठाउँमा खाना पकाउन स्थानीय अधिकारी वा सुरक्षाकर्मीबाट अनुमति लिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया