एजेन्सी । ब्राजिलको रियो दि जेनेरियो सहरमा आइतबार बिहान दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना सहरको पश्चिमी क्षेत्र रेक्रेइओ दोस बान्देरान्तेसमा भएको हो।
ठक्करपछि दुवै हेलिकोप्टर जमिनमा खसेका थिए। तीमध्ये एउटा हेलिकोप्टर विद्युतीय सवारीसाधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा खस्दा त्यहाँ रहेका करिब २० वटा विद्युतीय गाडीमा आगलागी भएको अग्नि नियन्त्रण विभागले जनाएको छ।
दमकल विभागका प्रवक्ता फाबियो कोन्त्रेइरासका अनुसार विद्युतीय गाडीमा प्रयोग हुने लिथियम–आयन ब्याट्रीमा आगो लाग्दा विषाक्त ग्यास उत्सर्जन हुने र आगो नियन्त्रणमा लिन ठूलो मात्रामा पानी आवश्यक पर्ने हुन्छ।
दुर्घटनाग्रस्त हेलिकोप्टरमध्ये एक जलेको अवस्थामा पार्किङ क्षेत्रमा फेला परेको थियो। उक्त हेलिकोप्टरमा पाँच जना सवार रहेको र सबैको मृत्यु भएको जनाइएको छ। अर्को हेलिकोप्टर घटनास्थलबाट करिब १०० मिटर टाढा खसेको अवस्थामा भेटिएको थियो, जसमा चालक मात्र सवार रहेका थिए।
दुर्घटनापछि हेलिकोप्टरका भग्नावशेष सयौं मिटर क्षेत्रभरि छरिएको अवस्थामा फेला परेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पार्किङ क्षेत्रबाट बाक्लो धुवाँ आकाशतर्फ उडिरहेको देखिन्छ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक विवरणअनुसार हेलिकोप्टरहरू कसरी एक–अर्कासँग ठोक्किए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
ब्राजिलमा हेलिकोप्टर तथा साना विमानसँग सम्बन्धित दुर्घटनाका घटना तुलनात्मक रूपमा बढी हुने गरेका छन्। ब्राजिलको विमान दुर्घटना अनुसन्धान तथा रोकथाम केन्द्रका अनुसार यस वर्ष आइतबारको घटनाअघि मात्रै देशभर ८४ वटा हवाई दुर्घटना दर्ता भइसकेका थिए।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया