काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको बयान विशेष अदालतमा जारी छ। उनीहरूमाथि २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान लिने कार्य अघि बढाइएको हो। शुक्रबार सुरु भएको भट्टको बयान नसकिएपछि सोमबार पुनः निरन्तरता दिइएको अदालत स्रोतले जनाएको छ। बयान प्रक्रिया सम्पन्न भए आजै थुनछेक बहस हुने सम्भावना रहेको छ।

advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो। उक्त मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल तथा अमित मोरलाई प्रतिवादी बनाइएको छ। सन्दीप चाचन अग्रवाल धितोपत्र दलाल कम्पनी नम्बर ५५ का अध्यक्षसमेत हुन्।

अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सलगायत विभिन्न कम्पनीको रकम दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरण गरेको आरोप उनीहरूमाथि लगाइएको छ। यसै प्रकरणमा अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो।

मुद्दामा दीपक भट्टविरुद्ध मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। अभियोगपत्रमा आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनर्मूल्यांकन गरी ३५ करोड ६८ लाख ८६ हजार २३ रुपैयाँ बराबरको अतिरिक्त मूल्य सम्पत्तिमा देखाएको उल्लेख छ।

त्यसैगरी, इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको आरोप पनि अभियोजन पक्षले लगाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा दुरुपयोग र बैंकिङ कसुरमार्फत प्राप्त स्रोतबाट लगानी तथा पुँजी विस्तारमा प्रयोग गरिएको आशंका गरिएको छ। यही आधारमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com