काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार संसद् सचिवालयका कर्मचारीहरूसहित निर्माणस्थल पुगेका उनले परियोजनाको प्रगति तथा बाँकी कामबारे जानकारी लिएका हुन्।

गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठक यही नयाँ हल98बाट सञ्चालन गरी बजेट प्रस्तुत गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन नसकेको छ। निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण सम्पन्न हुने निश्चित मिति तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिए।

advertisement

निर्माण कार्यमा भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि जनाउँदै उनले तोकिएको प्रतिबद्धता पूरा गर्न नसके दैनिक एक करोड रुपैयाँसम्म जरिवाना लगाउने चेतावनीसमेत दिए। साथै सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल समन्वय गरी निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

सभामुख अर्यालले राष्ट्रिय महत्वको परियोजनामा पटक–पटक समयसीमा सारिनु स्वीकार्य नहुने बताउँदै निर्माण कम्पनी तथा सम्बन्धित निकायको जवाफदेहितामाथि प्रश्न उठाए। उनले प्रतिबद्धताअनुसार काम सम्पन्न नगर्नु केवल संसद्को मात्र नभई राष्ट्रकै प्रतिष्ठासँग जोडिएको विषय भएको उल्लेख गरे।

‘प्रतिबद्धता गरिसकेपछि त्यसलाई पूरा गर्नुपर्छ। बहाना बनाएर काम टार्ने प्रवृत्ति अब स्वीकार्य हुँदैन। यो संसद्को मात्र होइन, राष्ट्रकै सम्मानको विषय हो,’ भन्दै उनले अब स्पष्ट निष्कर्ष र निश्चित कार्यतालिका आवश्यक रहेको बताए।

सभामुखले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाई रातदिन काम गरेर भए पनि निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com