काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकन तथा प्रवर्द्धनका लागि १ करोड रुपैयाँ बजेट छुट्याउने सहमति जनाएको बताएका छन्।
काठमाडौँमा आयोजित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणअन्तर्गत भएको विशेष कार्यक्रममा बोल्दै शाहीले कर्णालीको चलचित्र क्षेत्र विकासका लागि यस्तो सहमति भएको जानकारी दिएका हुन्। उनले सरकारलाई उक्त प्रतिबद्धता कार्यान्वयन गर्न पुनः आग्रह पनि गरे।
शाहीका अनुसार कर्णाली क्षेत्रका मौलिक कथा, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत उजागर गर्न तथा स्थानीय लेखक, युवा र सर्जकलाई प्रोत्साहन गर्न यो कार्यक्रम अघि सारिएको हो।
महोत्सवका क्रममा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताका लागि आवेदन दिने समयसीमा पनि थप गरिएको छ। भौगोलिक कठिनाइ, तयारी अभाव र व्यस्तताका कारण स्थानीय सर्जक तथा लेखकहरूले थप समय माग गरेपछि आवेदन अवधि बढाइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए।
प्रतियोगितामा देश तथा विदेशबाट प्राप्त कथाहरूको मूल्याङ्कन विशेषज्ञ निर्णायक मण्डलले गर्नेछ। उत्कृष्ट १५ कथाहरू छनोट गरी ‘फिल्म स्टोरी बैंक’ मा समावेश गरिने र छनोट भएका लेखकलाई पटकथा लेखनसम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
छनोट भएका कथाहरूलाई चलचित्र निर्माणका लागि स्वदेशी तथा विदेशी निर्माता र निर्देशकसमक्ष प्रस्तुत गरिनेछ। यदि कुनै कथामा आधारित चलचित्र निर्माण भएमा सम्बन्धित कथाकारलाई उचित व्यावसायिक पारिश्रमिक र श्रेय प्रदान गरिने आयोजकले स्पष्ट पारेका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य सावित्री मल्ल तथा पूर्वमन्त्री कुन्ती शाहीलगायतको उपस्थिति थियो। सहभागीहरूले कर्णालीलाई चलचित्र निर्माणको सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा कर्णाली क्षेत्रको कथामा आधारित सिर्जु शाहद्वारा लिखित पुस्तक ‘बैकिनी’ पनि सार्वजनिक गरिएको थियो।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया