काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको भन्दै ती मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा सहिद तथा घाइतेहरूको त्याग र संघर्षकै आधारमा वर्तमान सरकार गठन भएको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवामाथि दमन भइरहेको आरोप लगाइन्।
खतिवडाका अनुसार आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी विभिन्न झुटा मुद्दामा फसाउने प्रयास भइरहेको छ। उनले विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको गुनासो आएको पनि उल्लेख गरिन्।
उनले सरकारले यसअघि नै झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
सांसद रचना खतिवडाले भनिन्, ‘जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट बनेको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवालाई पक्राउ पुर्जी जारी गर्दै घरघरमा पुगेर कारबाही गरिरहेको छ। निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ। काभ्रेको पनौतीमा नयाँ एसपी आएपछि यस्ता घटना बढेको गुनासो आएको छ। सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन।’
उनले युवाहरूको त्याग र समर्थनबिना सरकार अघि बढ्न नसक्ने दाबी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित सबै झुटा मुद्दा तत्काल खारेज गर्न सरकारसँग पुनः आग्रह गरिन्।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया