हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत २५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेशको सडक, यातायात तथा अन्य पूर्वाधार विकासका योजनालाई तीव्रता दिने लक्ष्यसहित उक्त बजेट छुट्याइएको हो।
सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत समेटिएका सडक आयोजनाहरूका लागि मात्रै ७ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
उनका अनुसार विगतमा सुरु गरिएका महत्त्वपूर्ण पूर्वाधार आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ। अधुरा आयोजनालाई निरन्तरता दिँदै स्रोत सुनिश्चिततासहित कार्यान्वयनमा लैजाने सरकारको नीति रहेको उनले बताए।
काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व र सवारी चापलाई व्यवस्थित गर्न संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
त्यसैगरी, मकवानपुरको भीमफेदी र कुलेखानी जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए।
बागमती प्रदेश सरकारले आगामी वर्ष सडक सञ्जाल विस्तार, यातायात पूर्वाधार सुधार तथा दीर्घकालीन रणनीतिक परियोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेको जनाएको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया