पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बजेट प्रस्तुत गर्दै विकास निर्माण र पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताएका छन्।

कुल बजेटमध्ये २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ तथा १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको संरचनाअनुसार कुल विनियोजनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत क्षेत्रमा केन्द्रित गरिएको छ भने चालु खर्चको हिस्सा ३८.५६ प्रतिशत रहेको छ।

advertisement

प्रदेश सरकारले वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्याएको छ। अर्थमन्त्री शेरचनका अनुसार चालु खर्चलाई अघिल्लो वर्षको तुलनामा करिब एक प्रतिशतले घटाइएको छ। साथै संघीय सरकारले निर्धारण गरेअनुसार प्रदेशका कर्मचारीहरूको तलब वृद्धि गरिने व्यवस्था पनि बजेटमा समेटिएको छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब रुपैयाँले बढी हो।

बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न स्रोतबाट प्राप्त हुने आयको अनुमान गरेको छ। वित्तीय समानीकरण अनुदानअन्तर्गत संघीय सरकारबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

त्यसैगरी, रोयल्टी बाँडफाँडबाट ५१ करोड ४८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ तथा विशेष अनुदानमार्फत ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत विकास निर्माणका योजनालाई गति दिने, पूर्वाधार क्षेत्रमा लगानी बढाउने तथा वित्तीय अनुशासन कायम राख्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com