धनगढी । सुदूरपश्चिमका युवा राजनीतिकर्मी तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
धनगढीमा आयोजित रास्वपाको प्रदेश अधिवेशनका क्रममा सोमबार उनलाई पार्टीका महामन्त्री भूपदेव शाहले स्वागत गर्दै औपचारिक रूपमा पार्टीमा भित्र्याएका हुन्। थापा यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग निकट रहेर सक्रिय राजनीति गर्दै आएका थिए।
रास्वपा स्रोतका अनुसार थापाको पार्टी प्रवेशमा बझाङका युवा व्यवसायी तथा पूर्व संसदीय उम्मेदवार शैलेश सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विद्यार्थी राजनीतिबाट उदाएका थापाले बझाङ, बाजुरा र अछाम जिल्लामा विद्यार्थी संगठनको विशेष इन्चार्जका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। सुदूरपश्चिममा सक्रिय र स्पष्ट राजनीतिक धारका युवा नेताका रूपमा उनको परिचय रहेको छ।
थापा बझाङदिप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धन समर्थित उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएपछि चर्चामा आएका थिए। स्ववियु नेतृत्वमा रहँदा उनले शैक्षिक सुधार, सुशासन र भ्रष्टाचारविरुद्धका गतिविधिमा सक्रिय भूमिका खेलेको बताइन्छ।
हालै मात्र आफ्नो पुरानो राजनीतिक संगठनबाट अलग भएका थापाको रास्वपा प्रवेशलाई सुदूरपश्चिम, विशेषगरी बझाङ जिल्लामा पार्टीको संगठन विस्तार र युवा आकर्षण बढाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।
रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक दल र पृष्ठभूमिबाट युवा नेतृत्वलाई समेट्दै संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया