काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको आक्रमणको विषय प्रतिनिधिसभामा उठेको छ। नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गरेर घर फर्किने क्रममा असार १ गते राति शैलेश सिंहमाथि ७–८ जनाको समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको जानकारी दिए। सिंह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बझाङबाट रास्वपाका उम्मेदवारसमेत रहेका थिए।

advertisement

सांसद महरका अनुसार आक्रमणकारीहरूले सिंहमाथि कुटपिट गर्नुका साथै उनीसँग रहेका बहुमूल्य सामानसमेत लुटेका थिए। लुटिएका सामानमा ल्यापटप, मोबाइल फोन, घडी तथा सुनको सिक्री रहेको उनले बताए।

‘आफ्नै पार्टी नेतृत्वको सरकार रहेका बेला सोही पार्टीका जिम्मेवार नेतामाथि यस प्रकारको आक्रमण हुनु गम्भीर विषय हो,’ महरले भने, ‘यसले देशमा दण्डहीनता र अराजकता बढ्दै गएको संकेत गरेको छ।’

उनले घाइते सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

त्यसैगरी, सांसद महरले जापानमा निधन भएका बझाङका दीपक धामीको शव नेपाल ल्याउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरे। करिब एक वर्षअघि रोजगारीका लागि जापान पुगेका धामीको हालै निधन भएको उल्लेख गर्दै उनले मृतक परिवारको आर्थिक अवस्था कमजोर भएकाले सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए।

‘परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ,’ उनले भने, ‘दीपक धामीको पार्थिव शरीर स्वदेश ल्याउन नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय र सहयोग गरोस् भन्ने मेरो आग्रह छ।’

सांसद महरले विदेशमा रहेका नेपाली नागरिकको दुःखद अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने तथा आवश्यक सहयोगमा सक्रिय भूमिका खेल्नुपर्नेमा समेत जोड दिए।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com