काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको उम्मेदवार छनोट प्रक्रियामा योग्यता, क्षमता र कार्यसम्पादनलाई मुख्य आधार बनाउनुपर्ने बताउँदै पार्टीप्रति योगदान गरेका कार्यकर्तालाई अतिरिक्त प्राथमिकता दिन सकिने धारणा व्यक्त गरेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले यसअघि दिएको अभिव्यक्तिलाई केही व्यक्तिले गलत अर्थमा व्याख्या गरेको बताए।
बुर्लाकोटीका अनुसार यदि दुई जना व्यक्ति समान रूपमा योग्य, शिक्षित, इमानदार तथा आफ्नो पेशा वा व्यवसायमा सफल छन् भने पार्टीका गतिविधिमा सक्रिय योगदान पुर्याएको व्यक्तिले उम्मेदवार छनोटको क्रममा थप प्राथमिकता पाउन सक्छ।
‘यदि सबै मापदण्डमा दुई व्यक्ति बराबरी देखिन्छन् भने पार्टी निर्माण र सुदृढीकरणमा योगदान गरेको व्यक्तिलाई केही अतिरिक्त महत्व दिन सकिन्छ,’ उनले भने।
उनले पार्टीप्रतिको योगदानलाई मूल्याङ्कनको एउटा पक्षका रूपमा लिन सकिने भए पनि अन्तिम निर्णय भने व्यक्तिको क्षमता, योग्यता, अनुशासन र कार्यसम्पादनकै आधारमा हुनुपर्ने स्पष्ट पारे।
‘पार्टीमा योगदान गरेको व्यक्तिले एउटा अतिरिक्त अंक पाउन सक्छ, तर बाँकी मूल्याङ्कन उसले आफ्नो क्षमता, दक्षता, आचरण र प्रदर्शनमार्फत नै प्राप्त गर्नुपर्छ,’ बुर्लाकोटीले भने।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीभित्र योगदानको सम्मान हुनुपर्ने तर उम्मेदवार छनोटको मूल आधार योग्यता र जनविश्वास नै हुनुपर्ने धारणा दोहोर्याए।
रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा योगदान र योग्यताबीच सन्तुलन कायम गर्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












प्रतिक्रिया