काठमाडौं। सरकारी स्वामित्वको एक्स्काभेटर भाडामा दिँदा मिलेमतो गरी करिब ४७ लाख रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, सब–इन्जिनियर दानबहादुर पछेरा र लेखापाल युवराज भट्ट रहेका छन् ।
यसैगरी ठेक्का पाउने कैलालीको धनगढीस्थित भागरथी निर्माण सेवा, त्यसका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाको एक्स्काभेटर भाडामा दिने क्रममा कानुन र निर्देशिकाको ठाडो उल्लङ्घन गरिएको थियो । गाउँपालिकाको एक्स्काभेटर तथा अन्य हेभी मेसिनरी सञ्चालन र व्यवस्थापन निर्देशिकामा एक्स्काभेटरको न्यूनतम मासिक भाडा ५ लाख रुपैयाँ तोकिएको थियो ।
तर, तत्कालीन कार्यपालिका बैठकले कुनै प्राविधिक आधारबिनै बदनियतपूर्वक मासिक भाडा ४ लाख ५० हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो । प्रतिस्पर्धा सीमित गर्न ठेक्काको सूचना प्रदेशस्तरको पत्रिकामा नछापी कार्यालयको सूचना पाटीमा मात्र १५ दिने सूचना टाँसिएको थियो ।
ठेक्कामा प्रतिस्पर्धा भएको देखाउन योजनाबद्ध रूपमा तीन वटा फर्मको निवेदन पेस गर्न लगाइएको अख्तियारको ठहर छ । तुलनात्मक चार्ट तयार गरी भागरथी निर्माण सेवाको दररेट बढी भएको भन्दै सम्झौताका लागि गलत सिफारिस गरिएको थियो ।
निर्माण कम्पनीसँग कार्यसम्पादन जमानतसमेत दाखिला नगराई २०७७ पुस १ गतेदेखि २०७८ असार मसान्तसम्मका लागि मासिक ४ लाख ५१ हजार ५०० रुपैयाँका दरले एक्स्काभेटर प्रयोग गर्न कार्यादेश दिइएको थियो ।
निर्माण कम्पनीले २०७७ पुस १ देखि २०७८ कात्तिक १२ गतेसम्म एक्स्काभेटर आफ्नो अधीनमा राखेर करिब ८४० घण्टा प्रयोग गरेको थियो । यसबापत गाउँपालिकालाई बुझाउनुपर्ने ४६ लाख ९५ हजार ६०० रुपैयाँ मिलेमतोमा हालसम्म पनि राज्य कोषमा दाखिला नगरिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा अख्तियारले पटक–पटक सम्झौतापत्र माग्दा उनीहरूले सरकारी कागजात नै लुकाएर नष्ट गरेको तथ्यसमेत फेला परेको छ ।
अख्तियारले प्रतिवादीहरूबाट बिगो असुलउपर गरी सजायको मागसहित आरोपपत्र दायर गरेको छ ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया