काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले हाल अमेरिका, मेक्सिको र क्यानडामा जारी २३औँ संस्करणको फिफा विश्वकप फुटबल नेपाली दर्शकले निःशुल्क रूपमा हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले विश्वकप फुटबल हेर्न नेपालमा दर्शकबाट ९९९ रुपैयाँ शुल्क असुल्ने व्यवस्था गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए। उनले खेलप्रेमी नागरिकमाथि अतिरिक्त आर्थिक भार थोपर्ने यस्तो अभ्यास उचित नभएको धारणा व्यक्त गरे।
सांसद महरले विश्वकपजस्तो विश्वव्यापी खेल महोत्सव हेर्न दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्थालाई अनुचित ठहर गर्दै यसलाई उपभोक्तामाथिको अन्यायपूर्ण बोझको संज्ञा दिए।
संसद्मा उनले भने, “अहिले अमेरिका, मेक्सिको र क्यानडामा फिफा विश्वकप फुटबलको २३औँ संस्करण सञ्चालन भइरहेको छ। तर नेपालका दर्शकले उक्त प्रतियोगिता हेर्न ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्था सिर्जना गरिएको छ, जुन उचित देखिँदैन।”
उनले विश्वकप फुटबलप्रति नेपालीहरूको ठूलो आकर्षण रहेको उल्लेख गर्दै देशभरका खेलप्रेमी नागरिकलाई सहज रूपमा प्रतियोगिता हेर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
साथै, सबै टेलिभिजन प्लेटफर्ममार्फत विश्वकपका खेलहरू निःशुल्क प्रसारण हुने व्यवस्था मिलाउन आवश्यक पहल गर्न उनले सरकारसँग आग्रह गरे।
महरले विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा आम नागरिकको पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै खेलकुदप्रतिको जनचासोलाई सम्मान गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया