सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्वविद्यालयहरूको पाठ्यक्रमलाई आधुनिक आवश्यकताअनुसार परिमार्जन गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढिरहेको उनले बताए।

बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि आवश्यक बजेट, पूर्वाधार तथा दक्ष जनशक्तिको व्यवस्थापनमा सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे।

advertisement

उनले विश्वविद्यालयहरूले स्थानीय स्रोत, सम्भावना र आवश्यकतालाई केन्द्रमा राखेर अनुसन्धान र अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। विशेषगरी कर्णाली प्रदेशमा प्रशस्त रहेको जलस्रोत, वन सम्पदा, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र उपयोगलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलले उच्च शैक्षिक मापदण्ड कायम गर्न, डिजिटल शिक्षाको विस्तार गर्न तथा रोजगारमूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकार र शिक्षा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले यस दिशामा मध्यपश्चिम विश्वविद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराइने विश्वाससमेत दिलाए।

कर्णाली प्रदेशको गौरवका रूपमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले शिक्षा, अनुसन्धान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको भूमिकाको प्रशंसा गरे। स्थापना भएको करिब दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षाको विकास, खेलकुद प्रवर्द्धन, डिजिटल प्रविधिको उपयोग तथा नवीन शैक्षिक अभ्यासलाई संस्थागत गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धता उदाहरणीय रहेको उनको भनाइ थियो।

दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले प्राप्त शिक्षा व्यक्तिगत सफलतामा मात्र सीमित नभई समाज र राष्ट्र निर्माणको महत्वपूर्ण आधार बन्नुपर्ने धारणा राखे।

‘तपाईंहरूले हासिल गर्नुभएको शिक्षा देशको विकास र समृद्धिको यात्रामा महत्वपूर्ण पूँजी हो,’ उनले भने, ‘गुणस्तरीय शिक्षाले गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधतासँग सम्बन्धित समस्याहरूको समाधान खोज्न सक्षम बनाउँछ।’

मन्त्री पोखरेलले नयाँ पुस्तामा रहेको ज्ञान, सीप, अनुसन्धान क्षमता र उद्यमशीलताले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नवप्रवर्तन र सिर्जनशीलताको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अघि बढाउन युवाहरूको भूमिका निर्णायक रहने बताए।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com