काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक राजनीतिक, वैचारिक तथा सामाजिक रूपमा जटिल र संवेदनशील चरणबाट गुज्रिरहेको बताएका छन्। उनले राष्ट्रियता, लोकतान्त्रिक उपलब्धि तथा वामपन्थी आन्दोलनमाथि एकसाथ विभिन्न प्रकारका चुनौतीहरू देखापरेको धारणा व्यक्त गरे।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नेपाल असाधारण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै वर्तमान राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार पछिल्ला घटनाक्रमले लोकतान्त्रिक मूल्य, मान्यता र संस्थागत प्रणालीमाथि दबाब सिर्जना गरिरहेका छन्।
ज्ञवालीले लोकप्रियतावादी राजनीति, अराजकतावादी सोच र चरम दक्षिणपन्थी प्रवृत्तिको प्रभाव बढ्दै गएको दाबी गर्दै यस्ता प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने जोखिम रहेको बताए। उनले लोकतन्त्रको आवरणमा अधिनायकवादी प्रवृत्ति स्थापित गर्ने प्रयासप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याए।
उनले वर्तमान परिस्थितिले राष्ट्रिय स्वाभिमान, नागरिक स्वतन्त्रता तथा लामो राजनीतिक संघर्षबाट स्थापित लोकतान्त्रिक उपलब्धिहरूमाथि समेत चुनौती खडा गरेको टिप्पणी गरे।
विद्यार्थी अधिकारका सवालमा पनि चिन्ता व्यक्त गर्दै ज्ञवालीले शैक्षिक क्षेत्रका अधिकार र अवसरहरू खुम्चिँदै गएको बताए। साथै, भूमिहीन, सुकुम्बासी तथा सीमान्तकृत समुदायका समस्या समाधान हुनुको सट्टा थप जटिल बन्दै गएको उनको भनाइ थियो।
देश समग्र रूपमा बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरू, नागरिक समाज र लोकतान्त्रिक शक्तिहरूले परिस्थितिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
ज्ञवालीले वर्तमान चुनौतीहरूको सामना गर्न देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगको सहकार्य, संवाद र राजनीतिक समझदारी आवश्यक रहेको बताए। उनले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको पक्षमा उभिने शक्तिहरूबीच व्यापक एकता निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया