सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले १ हजार ९२८ जना विद्यार्थीलाई दीक्षित गरेको छ। बुधबार वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमार्फत स्नातक, स्नातकोत्तर तथा दर्शनाचार्य तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको हो।

विश्वविद्यालयका अनुसार दीक्षित हुनेमध्ये स्नातक तहका १ हजार २२२ जना, स्नातकोत्तर तहका ६९४ जना र दर्शनाचार्य तहका १२ जना विद्यार्थी रहेका छन्। योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले ग्रेस लिस्टमा समावेश भएका विद्यार्थीलाई दीक्षान्त प्रदान गरिएको जानकारी दिए।

advertisement

समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षालाई व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज र राष्ट्र निर्माणको आधारका रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले गुणस्तरीय शिक्षाले गरिबी, बेरोजगारी, स्वास्थ्य, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधताजस्ता चुनौतीको समाधान खोज्न मद्दत गर्ने उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले मध्यपश्चिम विश्वविद्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको बताए। उनले उपाधिसँगै जीवनको महत्वपूर्ण चरण पूरा भएको उल्लेख गर्दै निरन्तर सिकाइ र ज्ञानको प्रयोगमार्फत समाज तथा राष्ट्रको विकासमा योगदान दिन विद्यार्थीलाई आग्रह गरे।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com