काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बजेट कार्यान्वयन र समय व्यवस्थापनप्रति थप सजग हुन सुझाव दिएका छन्।

प्रतिनिधिसभामा बोल्दै साम्पाङले मन्त्री पुनले मन्त्रालयको अवस्था र बजेटसम्बन्धी विषयमा गुनासो राखेको उल्लेख गर्दै सरकारको जिम्मेवारीमा पुगेपछि समस्या प्रस्तुत गर्नेभन्दा समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

advertisement

उनले संसदमा जवाफ दिने क्रममा समय व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए। लामो व्याख्या र विस्तृत प्रतिक्रियाभन्दा विषयवस्तुमा केन्द्रित तथा संक्षिप्त प्रस्तुति प्रभावकारी हुने उनको भनाइ थियो।

साम्पाङले विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ठूलो परिमाणमा ‘अबन्डा’ बजेट राखिएको विषयप्रति समेत चासो व्यक्त गरे। स्पष्ट कार्यक्रम र कार्ययोजना तय नगरी ठूलो रकम छुट्याइँदा त्यसको प्रभावकारी उपयोगबारे प्रश्न उठ्न सक्ने उनले बताए।

‘कार्यक्रम नै निश्चित नभएको अवस्थामा ठूलो रकम अबन्डा शीर्षकमा राख्नु उचित होइन,’ उनले भने, ‘यस्तो बजेटको प्रयोग पारदर्शी र उद्देश्यअनुकूल हुनुपर्छ, अन्यथा दुरुपयोगको जोखिम रहन्छ।’

सांसद साम्पाङले विनियोजित बजेटलाई स्पष्ट योजना, मापदण्ड र प्राथमिकताका आधारमा खर्च गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक स्रोतको अधिकतम सदुपयोग सुनिश्चित गर्न सरकार सचेत रहनुपर्ने बताएका छन्।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com