काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर व्यापक तयारी गरिरहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को अवस्थामा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुने स्पष्ट पारे।

advertisement

उनका अनुसार विपद् परेको अवस्थामा उद्धार र राहत कार्यलाई तीव्र बनाउन हेलिकप्टरसहित सुरक्षा निकायका सबै साधन–स्रोत परिचालन गरिनेछ। औपचारिक निरीक्षणभन्दा पनि प्रत्यक्ष उद्धार र जनसुरक्षालाई केन्द्रमा राखेर काम गर्ने सरकारको नीति रहेको उनले बताए।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि विगतका सरकारहरूले गरेका सकारात्मक प्रयासलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने सरकारको योजना रहेको उल्लेख गरे।

‘विपद् व्यवस्थापनका लागि हाम्रो पूर्वतयारी राम्रो अवस्थामा छ, सुरक्षा निकायहरू पनि त्यसैअनुसार परिचालित छन्,’ उनले भने, ‘यसपटक मन्त्रीको निरीक्षणभन्दा पनि नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकता दिइएको छ, त्यसका लागि आवश्यक सबै साधन परिचालन गरिनेछ।’

उनले बाढी र पहिरोका कारण पूर्व–पश्चिम राजमार्गसहित निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार सडक अवरोध तत्काल हटाउन आवश्यक डोजर र उपकरणको स्थान पहिचान गर्न सकिने डिजिटल प्रणाली (एप) विकास गरिएको छ। उक्त प्रणालीमार्फत कुनै पनि स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिक उपलब्ध उपकरण तुरुन्त परिचालन गरी सडक सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको छ।

गृहमन्त्री गुरुङले उक्त प्रणालीलाई राइड–सेयरिङ एपको जस्तै प्रविधिसँग तुलना गर्दै उपकरण र स्रोतको छिटो पहिचान तथा परिचालन सम्भव हुने बताए।

यसअघि विभिन्न विपद् घटनामा देखिएका अनुभवका आधारमा यसपटक अझ प्रभावकारी र द्रुत प्रतिक्रिया दिने तयारी गरिएको उनले बताए। साथै, प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com