काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र मुलुकको आवश्यकता अनुरूप परराष्ट्र मन्त्रालयको संस्थागत क्षमता अभिवृद्धि गर्दै थप प्रभावकारी र परिणाममुखी बनाइने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले सरकार परराष्ट्र मन्त्रालयलाई सुदृढ बनाउने दिशामा प्रतिबद्ध रहेको बताए।
उनले नेपालको परराष्ट्र सम्बन्ध, कूटनीतिक गतिविधि तथा विदेशस्थित नियोगहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट तथा स्रोत–साधन व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिए।
मन्त्री खनालका अनुसार आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालय र मातहतका निकायहरूका लागि कुल ८ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो रकम चालु आर्थिक वर्षको ७ अर्ब ८४ करोड रुपैयाँको तुलनामा करिब ११ प्रतिशतले बढी हो।
उनले विनियोजित बजेटको अधिकतम उपयोग गर्दै सरकारको नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयलाई तोकिएका जिम्मेवारीहरू मितव्ययी, पारदर्शी र प्रभावकारी ढङ्गले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री खनालले राष्ट्रिय हितको संरक्षण, आर्थिक कूटनीतिको प्रवर्द्धन, वैदेशिक सम्बन्धको विस्तार तथा विदेशमा रहेका नेपाली नागरिकको हित र सुरक्षालाई केन्द्रमा राखेर मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने बताए।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया