काठमाडौं। अभिनेता तथा निर्माता जितु नेपालको निर्माण तथा मुख्य भूमिका रहेको फिल्म ‘आई एम जित बहादुर’ को प्रिमियरपछि प्राप्त सकारात्मक प्रतिक्रियासँगै फिल्मको अग्रिम बुकिङ पनि उत्साहजनक देखिएको छ।
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको आइएनआई हलमा विशेष प्रिमियर आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्र तथा संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रिमियर प्रदर्शनपछि सहभागी संचारकर्मी, फिल्मकर्मी तथा कलाकारहरूले फिल्मको कथा, प्रस्तुति र मुख्य पात्रमा रहेका जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले चलचित्रले मनोरञ्जनसँगै भावनात्मक पक्षलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए ।
फिल्ममा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।

‘आई एम जित बहादुर’ ले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको जीवनकथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका विभिन्न उतारचढावलाई चलचित्रले मार्मिक रूपमा चित्रण गरेको छ।
प्रिमियरपछि प्राप्त सकारात्मक प्रतिक्रियासँगै फिल्मको अग्रिम बुकिङ पनि उत्साहजनक देखिएको छ। यसले चलचित्रप्रति दर्शकमाझ बढ्दो आकर्षण रहेको संकेत गरेको छ। निर्माण पक्षले पारिवारिक तथा सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै निर्माण गरिएको फिल्मले हलमा राम्रो साथ पाउने अपेक्षा गरेको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












प्रतिक्रिया