काठमाडौं । सरकारले घरेलु विद्युत् उपभोक्तालाई थप राहत दिने उद्देश्यले भ्याट छुटको सीमा विस्तार गर्ने तयारी गरेको छ। हाल बजेटमार्फत प्रस्ताव गरिएको व्यवस्थामा संशोधन गर्दै मासिक १०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गर्न सरकार सकारात्मक देखिएको हो।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत विभिन्न निकायअन्तर्गत विनियोजित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् उपभोगमा करको भार अन्तिम उपभोक्तामाथि नपर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए।
आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याटको दायरामा ल्याउने प्रस्ताव गरिएको थियो। तर उक्त व्यवस्थाप्रति विभिन्न तहबाट चासो र सुझाव आएपछि सरकारले छुटको सीमा पुनरावलोकन गर्न थालेको हो।
अर्थमन्त्री वाग्लेले न्यून तथा मध्यम आय भएका उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले भ्याट छुटको सीमा बढाउने विकल्पमाथि छलफल भइरहेको बताए।
‘विद्युत्मा लगाइने भ्याटको प्रभाव आम उपभोक्तामा नपर्ने गरी व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ,” उनले भने, “हाल कायम रहेको निःशुल्क वा छुटको सीमा बढाएर १०० देखि १५० युनिटसम्म पुर्याउने विषयमा सरकार सकारात्मक छ।’
सरकारको यो तयारी कार्यान्वयनमा आए मासिक कम विद्युत् खपत गर्ने लाखौँ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया