काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। दुई साताअघि उदयपुरमा भएको मोटरसाइकल दुर्घटनापछि उनको लाइसेन्स वैधता र अभिलेखबारे प्रश्न उठेपछि छानबिन भइरहेको हो।
कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार हालसम्म गरिएको खोजबिनमा साम्पाङको लाइसेन्ससम्बन्धी आधिकारिक रेकर्ड फेला परेको छैन। ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालय, कोशी प्रदेशमा पत्राचार गरी विवरण माग्दा पनि कुनै स्पष्ट अभिलेख भेटिएको छैन।
ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी दीपक गिरीका अनुसार हालसम्म लाइसेन्स भएको प्रमाण पुष्टि हुन सकेको छैन। उनले प्रमाण नभएमा कानुनअनुसार जरिवाना प्रक्रिया अघि बढाइने बताए।
यातायात व्यवस्था कार्यालय, लाइसेन्स शाखाका प्रमुख निर्मल मानन्धरका अनुसार नागरिकता नम्बरका आधारमा गरिएको खोजमा हर्कबहादुर राईको नाममा हालको प्रणालीमा कुनै लाइसेन्स दर्ता भएको देखिँदैन। यद्यपि पुरानो अभिलेखमा बाबुको नाम तिलबहादुर राई र हर्कबहादुर राई उल्लेख भएको लाइसेन्सको संकेत भेटिए पनि नागरिकता विवरण नमिलेको कारण त्यसको वैधता पुष्टि हुन सकेको छैन।
कार्यालयका अनुसार डिजिटल प्रणालीमा पनि कुनै विवरण उपलब्ध छैन भने पुरानो कागजी अभिलेख भने पछिल्ला आन्दोलनका क्रममा भएको आगजनीबाट नष्ट भइसकेको छ।
साम्पाङ जेठ २२ गते उदयपुरमा हेल्मेट बिना लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा दुर्घटनामा परेको बताइएको छ। सो घटनापछि ट्राफिक प्रहरीले उनलाई जरिवाना गर्ने निर्णय गरेको थियो।
ट्राफिक कार्यालय इटहरीका अनुसार जरिवाना प्रक्रिया अघि बढाउन सम्बन्धित रसिद उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंमा पठाइसकिएको छ।
साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहिसकेका थिए।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया