काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले विभिन्न विवाद र अनियमितताका विषयमा सत्यतथ्य उजागर गर्न निष्पक्ष संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद शाहीले आफूहरू राष्ट्रहित, जनताको सम्पत्ति र राज्यको राजस्व संरक्षणका लागि निरन्तर आवाज उठाइरहेको बताए। उनले कुनै व्यक्ति वा समूहको पक्षमा नभई सत्य, न्याय र सुशासनको पक्षमा उभिएको स्पष्ट पारे।
‘हामी आर्थिक रूपमा कमजोर हुन सक्छौं, तर इमानदारीमा सम्झौता गर्न सक्दैनौं। कठिन परिस्थितिको सामना गर्न सक्छौं, तर आफ्नो नैतिकता बेच्न सक्दैनौं,’ उनले भने, ‘राज्यको स्रोतसाधन र जनताको सम्पत्तिको संरक्षणका लागि आवश्यक विषयमा निष्पक्ष संसदीय छानबिन हुनुपर्छ।’
शाहीले सुशासन र इमानदारीलाई केवल शैक्षिक योग्यतासँग जोडेर हेर्न नहुने तर्क गरे। विगतमा उच्च शिक्षित व्यक्तिहरूले समेत महत्वपूर्ण सरकारी जिम्मेवारी सम्हालेका बेला विभिन्न अनियमितता र भ्रष्टाचारका घटना सार्वजनिक भएको उदाहरण दिँदै उनले नैतिकता र जवाफदेहिता नै मुख्य विषय भएको बताए।
‘पढाइले मात्र कसैलाई इमानदार बनाउँदैन। इतिहास हेर्दा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूको कार्यकालमा पनि विवाद र भ्रष्टाचारका घटना देखिएका छन्,’ उनले भने, ‘त्यसैले सुशासनको आधार प्रमाणपत्र होइन, व्यवहार र जिम्मेवारीबोध हो।’
देशले भोगिरहेको समस्याको जिम्मेवारी गाउँका किसान, श्रमिक वा सर्वसाधारण नागरिकमाथि थोपर्न नमिल्ने उनको भनाइ थियो। शाहीले सत्ता, शक्ति र निर्णय प्रक्रियामा पुगेका तर देश र जनताप्रति उत्तरदायी हुन नसकेका व्यक्तिहरूका कारण मुलुकले विभिन्न चुनौती सामना गर्नुपरेको आरोप लगाए।
उनले विवादित विषयहरूको निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउन संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया