काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र अस्थिरताको प्रमुख कारण लगानीकर्तामा फैलिएको मनोवैज्ञानिक त्रास तथा चलिरहेका कानुनी अनुसन्धानहरू रहेको बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको असामान्य उतारचढावलाई सरकारले गम्भीरतापूर्वक नियालिरहेको जानकारी दिए।

advertisement

उनका अनुसार हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएका विभिन्न मुद्दाहरू अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेका छन्, जसको मुख्य सम्बन्ध पुँजी बजार र बिमा क्षेत्रसँग देखिएको छ। यस्ता अनुसन्धान अगाडि बढेसँगै केही लगानीकर्तामा अन्योल र त्रासको अवस्था सिर्जना भएको हुन सक्ने उनको भनाइ थियो।

‘एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी भएका मुद्दाहरू प्रक्रियामा छन्। तीमध्ये धेरैजसो पुँजी बजार र बिमा क्षेत्रसँग सम्बन्धित छन्,’ अर्थमन्त्रीले भने, ‘अनुसन्धान र कारबाही अघि बढ्दा कतै आफू पनि प्रभावित हुने हो कि भन्ने आशंका वा मनोवैज्ञानिक दबाब केही लगानीकर्तामा देखिएको हुन सक्छ, जसको असर बजारमा परेको छ।’

उनले वित्तीय क्षेत्रका ठूला अनियमिततामाथि अनुसन्धान र कारबाही सुरु भएपछि अल्पकालीन रूपमा बजारमा अनिश्चितता देखिनु स्वाभाविक भए पनि त्यसलाई दीर्घकालीन संकटका रूपमा नबुझ्न आग्रह गरे।

अर्थमन्त्री वाग्लेले सरकारको ध्यान सेयर बजारको दैनिक उतारचढावभन्दा पनि यसको दीर्घकालीन स्थायित्व, पारदर्शिता र विश्वसनीयतामा केन्द्रित रहेको स्पष्ट पारे। ‘बजार एक दिन वा एक घण्टामा कति बढ्यो वा घट्यो भन्नेमा सरकार केन्द्रित हुँदैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउनु हो।’

उनले लगानीकर्तालाई अफवाह र हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारले पुँजी बजार सुधार र विस्तारका लागि नीतिगत स्तरमा निरन्तर काम गरिरहेको बताए। वर्तमान अवस्थालाई अस्थायी चुनौतीको रूपमा चित्रण गर्दै उनले दीर्घकालीन रूपमा बजार थप सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com