काठमाडौं । बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत साईलक खण्डमा बस अनियन्त्रित भई करिब २५–३० मिटर तल खस्दा दुर्घटना भएको हो ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको यात्रुवाहक बस बुधबार साँझ करिब ५:४० बजे दशरथचन्द नगरपालिका–४ साईलकमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरबहादुर चन्दको मृत्यु भएको छ ।
बसमा चालकसहित १२ जना सवार थिए । घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ भने एक जनाको अवस्था मध्यम रहेको छ ।
प्रहरीले बस चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशव सिंह महरालाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया