एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का लागि कतार सरकारले गत वर्ष ‘बिना सर्त’ उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७-८ जेट विमान सार्वजनिक गरेका छन्।
अमेरिकी सेनाले करिब ४० करोड अमेरिकी डलर मूल्य बराबरको उक्त विलासी जम्बो जेटलाई राष्ट्रपतिको विशेष विमान ‘एयर फोर्स वान’ का रूपमा प्रयोग गर्न आवश्यक परिमार्जन गरेपछि ट्रम्पले शुक्रबार जोइन्ट बेस एन्ड्रयुजमा आयोजित समारोहमार्फत अनावरण गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै ट्रम्पले विमानलाई “कसैले कहिल्यै नदेखेको विलासिताको स्तरमा उड्ने ह्वाइट हाउस” मा रूपान्तरण गरिएको बताए। अमेरिकी वायुसेनाका अनुसार विमानलाई राष्ट्रपतिको नियमित प्रयोगमा ल्याउनुअघि अन्तिम परीक्षण उडानहरू गरिनेछन्।
वायुसेनाले सुरक्षा प्रणाली, मिसन सञ्चार, विशेष बन्दोबस्ती तथा अत्याधुनिक प्रविधिमा व्यापक स्तरोन्नति गरिएको जनाएको छ। यसअघि विदेशी स्वामित्वमा रहेको विमानबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई पूर्ण रूपमा निष्क्रिय पारिएको पनि सेनाले स्पष्ट पारेको छ। विमानको भित्री संरचनामा सीमित परिवर्तन गरिए पनि बाहिरी भागलाई रातो, सेतो, निलो र सुनौलो रङले नयाँ स्वरूप दिइएको छ।
सन् २०२५ मे महिनामा कतारी शाही परिवारले उक्त विमान अमेरिकी रक्षा मन्त्रालयलाई उपहार दिएको थियो। महँगो विमान स्वीकार गरिएको विषय सार्वजनिक भएपछि ट्रम्पका केही सहयोगीसहित रिपब्लिकन र डेमोक्र्याट दुवै दलका नेताहरूले आलोचना गरेका थिए।
आलोचकहरूले यति ठूलो मूल्यको उपहार स्वीकार गर्नु स्वार्थको द्वन्द्व तथा संवैधानिक विवादको विषय हुन सक्ने बताएका थिए। यद्यपि ह्वाइट हाउसले विमान स्वीकार गर्नु कानुनी रूपमा उचित रहेको दाबी गर्दै आएको छ। साथै, ट्रम्पले पद छोडेपछि विमानलाई राष्ट्रपतीय पुस्तकालयलाई दान गरिने प्रतिबद्धता पनि जनाएको छ।
ट्रम्पले विमानको प्रशंसा गर्दै यसको निर्माण, कारीगरी, प्रयोग गरिएका सामग्री तथा इन्जिन विश्वकै उत्कृष्ट रहेको दाबी गरे र कतारका अमिरप्रति आभार व्यक्त गरे।
यसअघि ‘एयर फोर्स वान’ बेडिकामा सन् १९९० देखि प्रयोग हुँदै आएका दुईवटा ७४७-२००बी जेट थिए। तीमध्ये एक विमान हाल सेवाबाट हटाइएको छ। बोइङले निर्माण गरिरहेको नयाँ भीसी–२५बी जेटहरूको आपूर्तिमा ढिलाइ भइरहेकाले कतारबाट प्राप्त यो विमानलाई अन्तरिम अवधिका लागि राष्ट्रपतिको हवाई यातायातमा प्रयोग गरिने अमेरिकी वायुसेनाले जनाएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया