चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा जारी छ। पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन्।
भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। घण्टीको निनादसँगै सुरु भएको महाधिवेशनको उद्घाटन सत्र अहिले पनि जारी छ।
महाधिवेशनको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू उद्घाटन समारोहमा उपस्थित छन्।
रास्वपाका अनुसार महाधिवेशनअन्तर्गत हुने बन्द सत्रमा राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल गरिनेछ। ती प्रतिवेदनहरू पारित गर्दै पार्टीको आगामी कार्यदिशा र रणनीति तय गर्ने तयारी गरिएको छ।
महाधिवेशनमा कुल ४ हजार २११ प्रतिनिधिको सहभागिता रहेको छ। सातवटै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिएको पार्टीले जनाएको छ।
यसैबीच, प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गर्न रास्वपाले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक मार्गचित्र निर्धारण गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया