चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

आइतबार भरतपुरमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा कुनै राजनीतिक विभाजन, सत्ता समीकरण वा कृत्रिम सहमतिबाट जन्मिएको दल नभई नेपाली समाजको परिवर्तनको चाहना र जनआकांक्षाको राजनीतिक अभिव्यक्ति भएको दाबी गरे।

advertisement

उनले नेपाली समाजमा लामो समयदेखि संचित निराशा, असन्तुष्टि र परिवर्तनप्रतिको तीव्र अपेक्षाले रास्वपाको जन्म गराएको उल्लेख गर्दै पार्टीले राष्ट्रव्यापी आशा र भरोसाको प्रतिनिधित्व गरेको बताए।

वाग्लेले रास्वपा विद्रोहको लोकतान्त्रिक स्वरका रूपमा स्थापित भएको दाबी गर्दै आफ्नो पार्टीको उद्देश्य कसैलाई पराजित गर्नु नभई नेपाललाई सफल बनाउनु रहेको स्पष्ट पारे। उनका अनुसार रास्वपा पुराना पुस्तासँग संघर्ष गर्न होइन, नयाँ राजनीतिक संस्कार, कार्यशैली र सुशासनको अभ्यास स्थापित गर्न मैदानमा आएको हो।

उनले नयाँ पुस्ताले केवल प्रश्न उठाउने मात्र नभई समाधान प्रस्तुत गर्ने क्षमता पनि राख्ने भन्दै शासन सञ्चालनमा समेत नयाँ पुस्ता सक्षम रहेको प्रमाणित गर्नुपर्ने आवश्यकता औँल्याए।

सम्बोधनका क्रममा वाग्लेले इतिहासले हरेक पुस्तालाई परिवर्तनको एउटा विशेष अवसर प्रदान गर्ने उल्लेख गर्दै अहिलेको अवसरलाई राष्ट्र निर्माण र राजनीतिक सुधारका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com