चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विगतमा सरकारी सम्पत्तिको दुरुपयोग वा अनियमितता भएको भए त्यसको खोजी र छानबिनबाट सरकार पछि नहट्ने बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा आफूहरू दृढ रहेको स्पष्ट पारे।
उनले विगतका गलत अभ्यास र सार्वजनिक सम्पत्तिको दोहनबारे सत्य तथ्य बाहिर ल्याउन आवश्यक परे सम्बन्धित निकायहरूसँग लामो समयसम्म पनि परामर्श र सहकार्य गर्न तयार रहेको बताए।
‘यदि कुनै विषयमा अख्तियारसँग पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि छलफल र परामर्श गर्नुपर्छ भने हामी त्यसका लागि तयार छौँ,’ शाहले भने, ‘तर हामी कुनै पनि हालतमा कानुन र नियमको सीमाभन्दा बाहिर जाने छैनौँ।’
सम्बोधनका क्रममा उनले रास्वपालाई विकास, सुशासन र परिणाममुखी काममा विश्वास गर्ने राजनीतिक शक्ति भएको बताए। आफ्नो पार्टी प्रतिशोधको राजनीति नभई काम र उपलब्धिको राजनीतिमा केन्द्रित रहेको उनको भनाइ थियो।
‘हामी विगतका विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘तर यदि अघिल्ला दिनमा सरकारी सम्पत्तिको दुरुपयोग, अनियमितता वा राज्य स्रोतको दोहन भएको छ भने त्यसको खोजी र छानबिन गर्नु राज्यको दायित्व हो।’
प्रधानमन्त्री शाहले विकास र सुधारको अभियानलाई प्राथमिकतामा राख्दै कानुनी प्रक्रिया र संस्थागत प्रणालीमार्फत सुशासन स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया