काठमाडौं । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी विभिन्न दलका नेताहरूले रास्वपालाई प्राप्त जनमतको संरक्षण गर्दै सुशासन, आन्तरिक लोकतन्त्र र राजनीतिक जिम्मेवारीलाई मजबुत बनाउन सुझाव दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धात्मक सम्बन्ध रहेको उल्लेख गर्दै दुश्मनी नभएको स्पष्ट पारे। उनले जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट जोगिनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको उदयलाई नेपाली राजनीतिमा नयाँ परिवर्तनको संकेतका रूपमा व्याख्या गर्दै युवा पुस्ताले सुशासन र समृद्धिको नेतृत्व गर्नुपर्ने बताए।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले रास्वपाले केवल नेतृत्व चयनमा सीमित नभई स्पष्ट राजनीतिक दृष्टिकोण, नीति र मार्गचित्र प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले संविधानवाद, विधिको शासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहन आग्रह गरे।
नेकपा नेता वर्षमान पुनले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा रास्वपासँग सहकार्य जारी रहने बताउँदै संविधान र कानुनको दायराभित्र रहेर परिवर्तनका प्रयासहरू अघि बढाउन सुझाव दिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि रास्वपाले प्राप्त अवसरलाई देशको हितमा उपयोग गर्दै जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए।
महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र बन्दसत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने जनाइएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया