काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय, पुल्चोक पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले आफूहरू शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेपछि हिरासतभित्रै गम्भीर मानव अधिकार उल्लंघनको शिकार भएको दाबी गरेका छन्।
निवेदनअनुसार जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी सीमा विवादको विषयमा भारतीय दूतावासअगाडि प्रदर्शन गरिरहेका बेला उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको थियो।
उनीहरूको दाबी अनुसार पक्राउ परेर हिरासतमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङ नेतृत्वको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको थियो। त्यसक्रममा गुरुङसहित उनका सहयोगीहरूले थुनुवामाथि मानसिक दबाब सिर्जना गर्ने, अपमानजनक व्यवहार गर्ने तथा ज्यान मार्ने धम्की दिने काम गरेको आरोप निवेदनमा उल्लेख गरिएको छ।
निवेदकहरूले हिरासतजस्तो संवेदनशील स्थानमा बाह्य व्यक्तिको प्रवेश हुनु र थुनुवामाथि दबाब सिर्जना गरिनु अत्यन्त गम्भीर विषय भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि आयोगको विशेष टोली गठन गरी सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको बयान संकलन गर्न, घटनादिनको सीसीटीभी फुटेज सुरक्षित गर्न तथा आगन्तुक अभिलेख नियन्त्रणमा लिन माग गरेका छन्।
उजुरीमार्फत पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्र प्रवेश गरेर मानसिक यातना दिएको आरोपमा गृहमन्त्री गुरुङ तथा संलग्न अन्य व्यक्तिमाथि मानव अधिकार उल्लंघन र फौजदारी कसुरअन्तर्गत कानुनी कारबाही अघि बढाउन आयोगले सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने माग गरिएको छ।
साथै, अनधिकृत व्यक्तिलाई हिरासत क्षेत्रभित्र प्रवेश गराउन सहयोग गर्ने वा रोक्न नसक्ने प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही गर्नुपर्ने माग निवेदनमा उल्लेख गरिएको छ।


प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया