काठमाडौं । राहदानी छपाइ ठेक्का अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित १६ व्यक्ती र २ कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सोमबार दायर गरेको आरोपपत्रमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने प्रतिवादी सूचीमा नरहेको अदालत स्रोतले जनाएको छ।
मुद्दामा विभागका निर्देशक सुनिलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, तथा अन्य कर्मचारीहरू मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल, शत्रुधनप्रसाद शर्मा पोखरेल, रविन्द्रराज भण्डारी र विपिन प्रसाई लगायतलाई विपक्षी बनाइएको छ।
आरोपपत्रअनुसार राहदानी छपाइ ठेक्का प्रक्रियामा राज्यलाई करिब १० अर्ब १३ करोड रुपैयाँभन्दा बढीको हानि भएको दाबी गरिएको छ। सोही बराबरको बिगो माग दाबीसमेत गरिएको छ।
गत वर्ष राहदानी छपाइका लागि दुई प्याकेज बनाएर गरिएको ठेक्कामा म्युहलबाउर आइडी सर्भिसले करिब १ अर्ब ५५ करोडको र भेरिडासले करिब ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए। ती कम्पनीका नेपाल प्रतिनिधिका रूपमा मुनेन्द्र मल्ल जोडिएका थिए।
*यसअघि प्रकाशित समाचार र तस्वीरमा अन्यथा भएकोमा सच्याइएको छ । — सम्पादक
प्रकाशित मिति: ८ असार २०८३, सोमबार










प्रतिक्रिया