एजेन्सी । अमेरिका–चीनबीच प्रविधि र रक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा चुलिँदै जाँदा बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण तथा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ।
चीनको वाणिज्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूलाई ‘सैन्य उद्यम सूची’ मा राखेको कदमको प्रतिवादस्वरूप यो निर्णय गरिएको हो। मन्त्रालयले उक्त कदमलाई राष्ट्रिय सुरक्षासँग जोड्दै आवश्यक र प्रतिरक्षात्मक भएको दाबी गरेको छ।
यस निर्णयसँगै चीनले विशेषगरी रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गरेको छ। प्रतिबन्ध सूचीमा परेका संस्थाहरूलाई चीनमा उत्पादित वा चीनसँग सम्बन्धित ‘दोहोरो प्रयोग’ (civilian र military दुवै प्रयोजनका) सामग्री निर्यात गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
चीनको नयाँ सूचीमा अमेरिकी रक्षा तथा एयरोस्पेस कम्पनीहरू एभिओक्स र ओस्कोश डिफेन्स पनि परेका छन्। ओस्कोश डिफेन्स अमेरिकी सैन्य सवारी उत्पादनमा संलग्न छ भने एभिओक्सले अमेरिकी सेनासँग विभिन्न रक्षा सम्झौताहरू गर्दै आएको छ।
त्यसैगरी दुर्लभ पृथ्वी खनिज क्षेत्रमा सक्रिय एमपी मटेरियल्स र युएसए रेयर अर्थ जस्ता कम्पनीहरू पनि प्रतिबन्धित सूचीमा परेका छन्।
चीनको वाणिज्य मन्त्रालयले सूचीमा परेका कम्पनीहरूसँग सम्बन्धित सबै प्रकारका निर्यात गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। साथै, कुनै पनि देश वा क्षेत्रबाट ती कम्पनीहरूलाई दोहोरो प्रयोगका सामग्री आपूर्ति गर्न नपाइने स्पष्ट गरिएको छ।
यसैबीच चीनको वित्त मन्त्रालयले पनि छुट्टै निर्णय गर्दै सार्वजनिक खरिद प्रक्रियामा ४६ अमेरिकी कम्पनीका उत्पादन प्रयोगमा प्रतिबन्ध लगाएको छ। ती सूचीमा लकहिड मार्टिन, रेथियोन र बोइङको रक्षा विभागका उत्पादनहरू समेत समावेश छन्। जनरल डायनामिक्स र एन्डुरिल इन्डस्ट्रिजका केही इकाइहरू पनि प्रतिबन्ध सूचीमा परेका छन्।
यद्यपि चीनमा सञ्चालनमा रहेका अमेरिकी लगानी भएका कम्पनीहरूलाई भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ। नयाँ नियम सोमबारदेखि नै कार्यान्वयनमा आएको छ।
यो पछिल्लो कदम अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार, प्रविधि र सुरक्षा तनावकै निरन्तरता हो। यसअघि अमेरिकाले पनि चिनियाँ सैन्य गतिविधिसँग सम्बन्ध रहेको आरोपमा दर्जनौँ चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेको थियो।
हालै अमेरिकाले अलिबाबा, बाइडु र बीवाईडीजस्ता ठूला कम्पनीहरूसमेत समेटेर करिब ८० चिनियाँ कम्पनीलाई सूचीमा राखेपछि बेइजिङले कडा प्रतिक्रिया जनाउँदै आएको थियो।
यद्यपि व्यापार शुल्क घटाउने केही सहमति भए पनि ताइवान, रक्षा सहयोग र प्रविधि नियन्त्रणका विषयमा दुवै देशबीचको विवाद झन् चर्किँदै गएको देखिन्छ।
पछिल्ला निर्णयहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा अब व्यापारबाट अघि बढेर रणनीतिक सुरक्षा र उच्च प्रविधि नियन्त्रणको स्तरसम्म पुगेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया