विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ ।
नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको उक्त ट्याङ्कर गएराति चोरी भएको हो । भारतको सिलीगुढीबाट इन्धन लोड गरी आइतबार साँझ ८ बजे पार्किङमा राखिएको ट्याङ्कर, चालक तथा सह-चालक तालिममा रहेको मौका छोपी चोरी भएको अनुमान गरिएको छ ।
ट्याङ्कर धनी नवीन कर्णका अनुसार, बिहान साढे ८ बजे गाडी नभएको थाहा भएपछि खोजी कार्य सुरु गरिएको थियो । उक्त ट्याङ्कर आज बिहान सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा फेला परेको र हाल सुनसरी प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रारम्भिक नापजाँचका क्रममा ट्याङ्करबाट करिब १ हजारदेखि १ हजार २ सय लिटर ( २० हजार लिटर पेट्रोल ) इन्धन चोरी भएको धनी कर्णले बताए ।
घटनाको पुष्टि गर्दै आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी व्यवसायी र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का तयार गरी ट्याङ्करलाई डिपोमा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












प्रतिक्रिया