काठमाडौं । नेकपा (एमाले) ले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित कदमको संज्ञा दिँदै सरकारविरुद्ध लोकतान्त्रिक प्रतिवादका लागि सबै राजनीतिक तथा सामाजिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।

पार्टीका सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले त्यसप्रति कडा आपत्ति जनाएको हो।

advertisement

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै विपक्षी नेतामाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही अघि बढाएको आरोप लगाइएको छ।

एमालेले वर्तमान सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको दाबी गर्दै यस्तो कदमले लोकतान्त्रिक प्रणाली र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ। वक्तव्यमा सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई साझा प्रतिरोधका लागि एकजुट हुन आग्रह गरिएको छ।

पार्टीले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई ‘अपहरण शैलीको गैरकानुनी नियन्त्रण’ भन्दै त्यसको घोर निन्दा तथा भर्त्सना गरेको छ। अध्यक्ष ओलीले यो घटना आफू र एमालेमाथि निरन्तर भइरहेको राजनीतिक दबाब तथा षड्यन्त्रको अर्को कडी भएको उल्लेख गरेका छन्।

एमालेका अनुसार पौडेल सुर्खेतको कार्यक्रम सम्पन्न गरी भोलिपल्ट नै काठमाडौं फर्कने पूर्वनिर्धारित तालिकामा थिए। यस्तो अवस्थामा सामान्य कानुनी प्रक्रिया अपनाएर आवश्यक सोधपुछ गर्न सकिने विकल्प हुँदाहुँदै नियन्त्रणमा लिनु सरकारको नियोजित कदम भएको पार्टीको दाबी छ।

‘कानुनको सम्मान गर्दै सार्वजनिक जीवन बिताएका व्यक्तिलाई राजनीतिक लाभ र सस्तो प्रचारका लागि पक्राउ गरिएको छ,’ वक्तव्यमा उल्लेख गरिएको छ।

एमालेले विपक्षी दल र तिनका नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिँदै आफू विधिको शासन, लोकतन्त्र र सुशासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै, सत्ताको आडमा गरिने कुनै पनि अधिनायकवादी कदमको डटेर सामना गर्ने पनि पार्टीले जनाएको छ।

उपाध्यक्ष पौडेललाई सोमबार दिउँसो सुर्खेतस्थित होटल शुभमबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो। पक्राउपछि उनलाई नेपालगञ्ज लगिएको छ भने मंगलबार हवाईमार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।

यसअघि पनि अनुसन्धानका क्रममा पौडेलको भैँसेपाटीस्थित निवासमा सम्बन्धित निकायको टोलीले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com