काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टीको प्रथम महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाको सहभागिताले उच्च राजनीतिक संस्कार र परिपक्वताको सन्देश दिएको बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले रास्वपाको राजनीतिक संघर्ष गगन थापा वा विश्वप्रकाश शर्माजस्ता नयाँ पुस्ताका नेताहरूसँग नभई पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध केन्द्रित रहेको स्पष्ट पारे।
उनले महाधिवेशनमा गगन थापालाई निमन्त्रणा गरेर पार्टी सभापति रवि लामिछानेले उदार राजनीतिक सोच प्रस्तुत गरेको र कार्यक्रममा सहभागी भएर थापाले पनि सकारात्मक राजनीतिक सन्देश दिएको बताए।
प्रसाईँका अनुसार गगन थापाले कार्यक्रममा आफूहरू रास्वपाका शत्रु नभएको धारणा राखेका थिए। तर विगतमा रास्वपाप्रति कांग्रेसका केही नेताहरूबाट देखाइएको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे।
‘हामीले सधैँ पुरानो राजनीतिक प्रवृत्ति, भ्रष्टाचार र परिवारवादविरुद्ध संघर्ष गरिरहेका छौँ। त्यस क्रममा गगन थापा र विश्वप्रकाश शर्माहरूको समूहबाट हामीले अपेक्षा गरेअनुसारको सहयोग पाएनौँ,’ प्रसाईँले भने।
उनले पार्टी सभापति रवि लामिछानेले व्यक्तिगत तथा राजनीतिक मतभेदलाई अन्त्य गर्दै राष्ट्रिय मुद्दामा सहकार्यको वातावरण बनाउन पहल गरेको उल्लेख गरे। प्रसाईँले लामिछानेको उक्त कदमलाई ‘विशाल हृदयताको उदाहरण’ भन्दै प्रशंसा गरे।
यद्यपि, आफू व्यक्तिगत रूपमा गगन थापाप्रति विगतका केही घटनाका कारण अझै पूर्ण रूपमा सकारात्मक हुन नसकेको प्रसाईँले स्वीकार गरे।
यसैबीच उनले भ्रष्टाचार, परिवारवाद र बेथितिविरुद्ध सरकार तथा रास्वपा थप दृढताका साथ अघि बढ्ने बताए। सहकारी पीडितहरूको बचत फिर्ता प्रक्रियाले गति लिइरहेको दाबी गर्दै उनले सहकारी संस्थाहरूबाट ऋण असुली गरी बचतकर्तालाई रकम फिर्ता गर्ने काम भइरहेको बताए।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार










प्रतिक्रिया