चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ । आज दिउँसो २ बजेदेखि सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजेसम्म चल्ने कार्यतालिका रहेको छ ।
मतदानलाई छिटो, पारदर्शी र आधुनिक बनाउन ८० वटा विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन) जडान गरिएको छ । प्रवासमा रहेका प्रतिनिधिहरूले पार्टीको आधिकारिक एपमार्फत विश्वको जुनसुकै ठाउँबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यो निर्वाचनबाट एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् । निर्वाचनलाई मर्यादित बनाउन आयोगले विशेष नियम पनि जारी गरेको छ । जसअनुसार कुनै उम्मेदवारको प्रस्तावक वा समर्थकले सोही पद वा अन्य पदमा उम्मेदवारी दिन पाउने छैनन् ।
महाधिवेशनको बन्दसत्रमा आज अनुशासन आयोग, आर्थिक, संगठनात्मक प्रतिवेदन, विधान संशोधन तथा आर्थिक–राजनीतिक प्रस्तावनामाथि छलफल हुनेछ ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार











प्रतिक्रिया