काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा सबै सदस्यलाई समान अवसर दिइने स्पष्ट गर्दै कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिनबाट वञ्चित नगरिने बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र नेतृत्व चयन लोकतान्त्रिक प्रतिस्पर्धामार्फत हुने बताए। उनले योग्यता, क्षमता र योगदानका आधारमा जो–कोहीले पनि उम्मेदवारी दिन सक्ने उल्लेख गरे।

advertisement

पार्टीभित्र सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने चर्चा निराधार रहेको स्पष्ट पार्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा आफ्नो विवेक प्रयोग गरी नेतृत्व चयन गर्न आग्रह गरे।

‘कसैले तपाईंलाई महाधिवेशन प्रतिनिधि बनाएर पठाएको छ भने त्यसका लागि धन्यवाद दिनुहोस्, तर मतदान गर्दा आफ्नो विवेक प्रयोग गर्नुहोस्। कसलाई भोट दिने वा नदिने भन्ने निर्णय तपाईंहरूको हो, त्यो कसैले निर्देशित गर्ने विषय होइन,’ उनले भने।

सभापति लामिछानेले महाधिवेशन प्रतिनिधिबाट लिइँदै आएको ५ हजार रुपैयाँ शुल्कलाई ऐच्छिक बनाउने घोषणा पनि गरे। आर्थिक अवस्था, व्यक्तिगत कारण वा अन्य कुनै कारणले शुल्क तिर्न नसक्ने वा नचाहने प्रतिनिधिहरूलाई शुल्क तिर्न बाध्य नपारिने उनले बताए।

यसअघि शुल्क बुझाइसकेका प्रतिनिधिले चाहेमा रकम फिर्ता पाउने व्यवस्था मिलाउन पार्टी नेतृत्वलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।

पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिका विषयमा बोल्दै लामिछानेले फरक विचार र धारणा स्वाभाविक भए पनि त्यसलाई सार्वजनिक विवादमा रूपान्तरण गर्न नहुने बताए। उनले सबै नेता–कार्यकर्तालाई ‘एक रास्वपा, एक घण्टी’ को भावनाका साथ एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

उनले पार्टीको शक्ति आन्तरिक एकता, लोकतान्त्रिक अभ्यास र साझा लक्ष्यमा निर्भर रहने उल्लेख गर्दै संगठनलाई बलियो बनाउन व्यक्तिगत आग्रह वा समूहगत स्वार्थभन्दा पार्टी हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com