काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीसँग सम्बन्धित आर्थिक गतिविधिको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले मालपानीको सवारी साधन प्रयोग गर्ने व्यक्तिहरूमाथि समेत आवश्यक परे अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

मंगलबार विशेष अदालतमा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको तर्फबाट बहस गर्दै बडालले पौडेलमाथिको अनुसन्धान राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरे।

advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विभागले विशेष अदालतमा उपस्थित गराएपछि भएको सुनुवाइमा बडालले सरकारको कदममाथि प्रश्न उठाएका हुन्।

उनले अनुसन्धान निष्पक्ष, तथ्यमा आधारित र सबैका लागि समान मापदण्डमा हुनुपर्नेमा जोड दिँदै कुनै एक व्यक्तिलाई मात्र लक्षित गरेर कारबाही गर्नु न्यायोचित नहुने तर्क गरे।

बहसका क्रममा बडालले व्यवसायी मालपानीमाथि पनि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै, उनको स्रोत वा सम्पत्तिसँग जोडिएका व्यक्तिहरूको भूमिका समेत छानबिनको विषय बन्न सक्ने धारणा राखे।

उनले प्रत्यक्ष रूपमा नाम नलिए पनि विगतमा निर्वाचन प्रचारका क्रममा मालपानीको सवारी साधन प्रयोग गरिएको विषय सार्वजनिक रूपमा चर्चामा आएको प्रसंग उल्लेख गर्दै अनुसन्धानमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका थिए।

पौडेलविरुद्धको अनुसन्धान र गिरफ्तारीबारे विशेष अदालतमा दुवै पक्षबाट कानुनी बहस जारी रहेको छ भने अदालतले थुनछेकसम्बन्धी आदेशपछि थप प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com