चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। पार्टीका ९९ केन्द्रीय सदस्य पदका लागि मंगलबार राति मनोनयन दर्ता सम्पन्न भएको छ भने उक्त पदका लागि करिब ४०० जनाले उम्मेदवारी दिएका छन्।

यद्यपि बुधबार दिउँसोसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार प्रारम्भिक नामावली प्रकाशनपछि दाबी–विरोधका लागि निश्चित समय प्रदान गरिनेछ। त्यसपछि अन्तिम नामावली सार्वजनिक गरी मतदान प्रक्रिया अघि बढाइनेछ।

advertisement

महाधिवेशनस्थल भरतपुरमा मतदानका लागि ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्। निर्वाचन आयोगले राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गराउने तयारी गरेको जनाएको छ।

यसबीच केन्द्रीय सदस्य पदका आकांक्षीहरूले महाधिवेशनस्थलमा चुनावी प्रचारलाई निरन्तरता दिएका छन्। तर अन्तिम उम्मेदवार सूची प्रकाशित भएपछि मतदान प्रारम्भ हुनुअघि लागू हुने मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज रातिसम्म केन्द्रीय सदस्य पदको पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसपछि पदाधिकारी चयनको प्रक्रिया सुरु गर्ने तयारी छ। दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री तथा तीन सहमहामन्त्री गरी ६ पदका लागि निर्वाचन हुनेछ।

रास्वपाको प्रथम महाधिवेशन गत आइतबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सभापति पदमा भने लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com