काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३७० भन्दा बढी नेताकार्यकर्ताले उम्मेदवारी दर्ता गरेका छन्। पार्टीका ९९ केन्द्रीय सदस्य चयनका लागि ठूलो संख्यामा आकांक्षी मैदानमा उत्रिएका हुन्।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका क्रममा केही नाम दोहोरिएको (डुप्लिकेट) भेटिएकाले त्यसलाई सच्याउने तथा अन्तिम सूची व्यवस्थित गर्ने काम भइरहेको छ। साथै उम्मेदवारमाथि परेको दाबी–विरोधसम्बन्धी प्रक्रियासमेत सँगसँगै अघि बढाइएको आयोगले जनाएको छ।
रास्वपाका निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवारको अन्तिम नामावली तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ। उनले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइरहेको बताए।
बुर्लाकोटीका अनुसार मतदानका क्रममा एक प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्न औसत १० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणनाको नतिजा सार्वजनिक गर्न करिब दुई घण्टा लाग्ने उनले जानकारी दिए।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचनलाई रास्वपाको नयाँ नेतृत्व निर्माणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार













प्रतिक्रिया