काठमाडौं। नेपाली फिल्म आई एम जित बहादुर दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। प्रदर्शन सुरु भएको केही दिनमै फिल्मले देशभरका हलमा उत्साहजनक प्रतिक्रिया पाउँदै लगातार विभिन्न हलहरूमा हाउसफुल शो गर्न सफल भएको छ।
फिल्मप्रति दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। विभिन्न सहरका सिनेमाघरमा टिकटका लागि दर्शकको भीड बढ्दा धेरै शो हाउसफुल भएका छन्। फिल्म हेरेर बाहिरिने दर्शकहरूले कथा, अभिनय र भावनात्मक प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन्। यो फिल्ममा वर्षा राउत र सन्दिप क्षेत्रीले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको दर्शकहरूको प्रतिक्रिया छ।
विशेषगरी फिल्मको सशक्त कथा, हृदयस्पर्शी संवाद र भावनात्मक दृश्यहरूले दर्शकलाई गहिरो रूपमा छोएको छ। सामाजिक सञ्जालमा पनि फिल्मबारे सकारात्मक प्रतिक्रिया व्यापक रूपमा फैलिएको छ, जसले थप दर्शक हलसम्म तानिरहेको छ।
निर्माण टिमले दर्शकको अपार माया र समर्थनप्रति आभार व्यक्त गर्दै फिल्मप्रतिको उत्साहले आफूहरू उत्साहित बनेको जनाएको छ। टिमका अनुसार सकारात्मक ‘वर्ड अफ माउथ’ नै फिल्मको सफलताको प्रमुख आधार बनेको छ।
बक्स अफिसमा बलियो उपस्थितिसँगै आई एम जित बहादुर अहिले नेपाली फिल्म बजारमा चर्चाको केन्द्र बनेको छ।



प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया