चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अपेक्षाभन्दा ढिलो हुनुलाई पार्टीको नभई निर्वाचन आयोगको व्यवस्थापकीय कमजोरीको परिणाम भएको बताएकी छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै तामाङले अन्य ठूला राजनीतिक दलहरूको महाधिवेशन सञ्चालनको अनुभव भएका व्यक्तिहरू संलग्न हुँदाहुँदै पनि निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गरिन्।
उनले निर्वाचन तालिका प्रभावित हुँदा विशेषगरी दूरदराज र विकट क्षेत्रबाट आएका प्रतिनिधिहरू सबैभन्दा बढी मारमा परेको बताइन्। उनका अनुसार प्रतिनिधिहरू चार–पाँच दिनदेखि महाधिवेशनस्थलमा बस्न बाध्य भएका छन्, जसका कारण उनीहरूलाई आर्थिक तथा मानसिक दुवै प्रकारको भार परेको छ।
‘टाढाटाढाबाट आएका प्रतिनिधिहरू धेरै दिनदेखि यहाँ बसिरहेका छन्। दैनिक बसोबास र खानपिनमा ठूलो खर्च भइरहेको छ। निर्वाचन प्रक्रिया लम्बिँदा सबैभन्दा बढी दुःख र सास्ती प्रतिनिधिहरूले नै भोग्नुपरेको छ,’ तामाङले भनिन्।
उनले निर्वाचनमा देखिएको ढिलाइलाई पार्टीभित्रको समस्या नभई निर्वाचन आयोगको जिम्मेवारीसँग जोडिएको विषय भएको स्पष्ट पारिन्। ‘यो पार्टीले चाहेको अवस्था होइन। निर्वाचनको सम्पूर्ण व्यवस्थापन आयोगको जिम्मेवारीभित्र पर्ने विषय हो। व्यवस्थापनमा देखिएको कमजोरीको जिम्मेवारी पनि आयोगले नै लिनुपर्छ,’ उनले बताइन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया