काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदकी उम्मेदवार ज्वाला संग्रौलाले महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको मतपत्रमा आफ्नो परिचित नाम समावेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले आफू सार्वजनिक रूपमा ‘ज्वाला संग्रौला’ नामबाट चिनिँदै आएको भए पनि मतपत्रमा ‘टिका संग्रौला’ उल्लेख गरिएकाले प्रतिनिधिहरू अन्योलमा परेको बताइन्।

advertisement

उनका अनुसार मतपत्रमा ‘ज्वाला’ नाम नदेखेपछि धेरै प्रतिनिधिले आफू उम्मेदवार रहेको नै थाहा नपाई मतदान गर्न नसकेको गुनासो गरेका छन्। यसले आफ्नो मत प्रभावित भएको उनको दाबी छ।

संग्रौलाले उक्त विषय नियतवश गरिएको हो वा प्राविधिक त्रुटिका कारण भएको हो भन्नेबारे छानबिन हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा औपचारिक निवेदन दर्ता गरिसकेको जानकारी दिइन्।

उनले अन्य उम्मेदवारहरूको हकमा सार्वजनिक रूपमा परिचित नाम नै मतपत्रमा राखिएको उल्लेख गर्दै आफ्नो नाम फरक ढंगले प्रस्तुत गरिनुले शंका उत्पन्न गरेको बताइन्।

‘सुरुदेखि नै म ‘ज्वाला संग्रौला’ नामबाट परिचित छु। तर मतपत्रमा ‘टिका संग्रौला’ राखिँदा धेरै प्रतिनिधि झुक्किनुभएको छ,’ उनले भनिन्। ‘यो नियतपूर्वक गरिएको हो वा प्राविधिक कमजोरी, त्यसको निष्पक्ष छानबिन हुनुपर्छ।’

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com