काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी पुनःस्थापनाको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार कीर्तिपुरको राधास्वामी सत्संग परिसरमा बसिरहेका प्रभावित परिवारहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थायी बसोबासको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर खाली गर्न नसकिने बताएका हुन्। उनीहरूले जबर्जस्ती हटाइए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी पनि दिएका छन्।
पीडितहरूका अनुसार सरकारले गत वैशाख १२ गते काठमाडौंका विभिन्न स्थानमा रहेका बस्ती हटाउने क्रममा अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। त्यसबेला १५ दिनका लागि अस्थायी आवास उपलब्ध गराइने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गरिने आश्वासन दिइएको थियो। तर दुई महिना बितिसक्दा पनि पुनःस्थापनाको कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।
विज्ञप्तिमा होल्डिङ सेन्टरभित्रको बसोबास अवस्था, आधारभूत सेवा–सुविधा र खाद्य व्यवस्थापनसमेत सन्तोषजनक नरहेको उल्लेख गरिएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ९ गते जारी गरेको सूचनाप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्। उक्त सूचनामार्फत असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिँदै प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर बसोबासको व्यवस्था आफैं गर्न भनिएको थियो।
पीडितहरूले उक्त रकमले दीर्घकालीन बसोबासको समस्या समाधान नहुने भन्दै सरकारलाई पुनःस्थापनासम्बन्धी स्पष्ट योजना सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले आफ्ना विभिन्न माग समेटेर पाँचबुँदे प्रस्तावसमेत सार्वजनिक गरेका छन् र त्यसको सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया