काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्का मन्त्रीहरूलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजालसहित आठ जनालाई अदालतमा झिकाउन आदेश दिएको हो। आदेशअनुसार मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी, महेन्द्रप्रसाद यादवलगायतलाई पनि बकपत्रका लागि उपस्थित हुन भनिएको छ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरिएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया