काठमाडौं । रास्वपा महाधिवेशन अन्तर्गत पदाधिकारी चयनमा सहमति जुटाउने रातभरको प्रयास असफल भएको छ ।

एक महामन्त्रीको लागि चुनावी मैदानमा ५ जना दाबेदार थिए । तर निर्वाचन आयोगले पहिलो चारणको नतिजा प्रकाशित गरेपछि केन्द्रीय समितिमा लोकप्रिय मत प्राप्त गरेका अन्य नेताले पनि महामन्त्री पदमा आकांक्षा देखाए । एक पदका लागि ११ जनाले उम्मेदवारी दिने घोषणा गरे ।

advertisement

उम्मेदवारको लर्को लागेपछि सभापति रवि लामिछाने सर्वसम्मत पदाधिकारी छान्नका लागि ८ घण्टासम्म प्रयास गरेका थिए । तर परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल बाहेक अन्यले उम्मेदवारी फिर्ता लिन नमानेपछि लामिछाने बिहान ६ बजेतिर मतदान स्थलबाट बाहिर निस्किएका थिए ।

रास्वपाका एक नेताका अनुसार महामन्त्री पदमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, निवर्तमान सचिवालय सदस्य गणेश पराजुली, सागर ढकाल, गणेश कार्की, प्रमोद न्यौपाने, रञ्जु दर्शना, पूर्व सञ्चारमन्त्री जगदीश खरेल र राजु पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । तर अन्तिम समयसम्म सहमति गराउने प्रयास भने जारी राखेको नेता बुर्लाकोटीले जानकारी दिए । आकाङ्क्षीहरूले आ–आफ्ना स्वार्थ न त्याग्दा सहमति हुन नसकेको उनको गुनासो थियो ।

‘सभापतिले रातभर बसेर सहमतिको प्रयास गर्नुभयो तर आफूले उम्मेदवारी फिर्ता लिँदा अर्को जिम्मेवारी के पाउँछु भन्ने कुरा गर्नुभयो । यसरी पार्टी कसरी निर्माण हुन्छ ?’, प्रतिनिधिहरूसँग बुर्लाकोटीको गुनासो थियो ।

केन्द्रीय सदस्यमा राम्रो मत पाएपछि पदाधिकारीमा आकाङ्क्षी बढेको उनको बुझाइ छ ।

यता ६ दिनसम्म चर्को घाममा बसेर पनि नेतृत्व छान्न नपाएपछि आक्रोशित प्रतिनिधिहरूले कि सहमत गर कि निर्वाचन गर भनेर दबाब दिएका छन् । उनीहरूले आयोगका नेतृत्वप्रति पनि प्रश्न उठाएका छन् ।

उपसभापतिमा पुरुषतर्फ डा स्वर्णिम वाग्ले निर्विरोध भएपनि महिलातर्फ आकाङ्क्षी धेरै हुँदा सहमति जुटेको छैन ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com