चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्।
शुक्रबार महाधिवेशनस्थल चितवनमा आयोजित पत्रकार सम्मेलनमा दर्शनाले आफू अब महामन्त्री पदको दौडबाट अलगिएको र आफ्नो समर्थन तथा मत विपिन आचार्यलाई रहने बताइन्।
उनको निर्णयसँगै विपिन आचार्यको पक्षमा खुलेर समर्थन गर्ने उम्मेदवारको संख्या थपिएको छ। यसअघि महामन्त्रीका उम्मेदवार गणेश पराजुली, प्रमोद न्यौपाने र निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए।
यसअघि नै शिशिर खनाल र जगदीश खरेल (ललितपुर) ले पनि महामन्त्री पदको दाबेदारी त्यागिसकेका छन्। त्यसैगरी, उम्मेदवारी घोषणा गरेका राजुनाथ पाण्डेले समेत अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
उम्मेदवारी फिर्ताको शृंखलापछि समाचार तयार पार्दासम्म महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया